अत्तरियाका किसानले व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम चौधरीले लामो समयदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन।
उनले तरकारी खेतीबाट वार्षिक रु छ लाख बचत गर्ने गरेको बताए । विगत २६ वर्षदेखि परम्परागत रुपमा तरकारी खेती गर्दै आएको थिएँ ।
पछिल्ला केही वर्षयता व्यवसायलाई व्यवस्थित र विस्तार गर्दै लगेको छु , चौधरीले भने । अहिले १५ कठ्ठा जग्गामा तरकारी खेती विस्तार गरिएको बताउँदै उनले वर्षभरिमा सबै खर्च कटाएर रु छ लाखसम्म बचत हुने गरेको जानकारी दिए ।
यस वर्षको वर्खा याम सुरु भएदेखि हालसम्म रु एक लाख ५० हजारको तरकारी बिक्री गरिसकेको छु, चौधरीले भने, अहिले दैनिक ५० देखि ६० किलो तरकारी बिक्री हुन्छ ।
भिन्डी प्रतिकिलो रु एक सय, बोडी रु दुई सय, करेला रु एक सयमा बिक्री हुने गरेको छ । सिजन अनुसारका सबै किसिमका तरकारी लगाउने गरेको चौधरीले बताए।
उत्पादित तरकारी बेच्न समस्या छैन । धनगढीस्थित हाटबजारमा लगेर बिक्री गर्छु, उनले भने , आम्दानीको स्रोत नै यही व्यावसाय हो । यसमा लगानी कम र मेहनत बढी छ । मेहनत गर्दा धान गहुँभन्दा तरकारीमा आम्दानी कमाइ मनग्य हुन्छ ।
पाँचजना परिवारको सबै खर्च तरकारी खेतीबाटै भइरहेको चौधरीले जानकारी दिए । दुई छोरा र एक छोरी विद्यालय पढ्छन् । पढाइलेखाइ, औषधि उपचार सबै खर्च यसबाट सञ्चालित छ , उनले भने, अन्यन्त्र गएर मजदुरी गर्नु भन्दा आफ्नै घरमा बसेर काम गर्न पाउँदा सन्तुष्ट छु ।
तरकारी बिक्रीबाटै भएको आम्दानीबाट विसं २०७५ मा चार कोठाको पक्की घर बनाएको चौधरीले बताए । सिँचाइको राम्रो व्यवस्था हुनसके तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिने उनको भनाइ छ । सोही वडाको मटियारीका बिखलु रानाले पनि लामो समयदेखि तरकारी खेती गर्दै आएका छन।
रानाले आठ कठ्ठा जग्गामा व्यावसायिक तरकारी खेती गर्ने गरेको बताए । तरकारी खेतीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी हुने गरेको उनले जानकारी दिए ।
तरकारी खेतीबाट भएको आम्दानीले सहज जीविकोपार्जन भइरहेको छ । सबै खर्च कटाएर वार्षिक रु तीन लाखसम्म बचत हुन्छ , उनले भने, तरकारी बेच्नलाई बजार कुनै समस्या हुँदैन् ।
नजिकैको हाटबजारमा लगेर बिक्री गर्छु । स्थानीय सरकारले किसानलाई अनुदानमा बीउका साथै प्राविधिमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए । रासस










