माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले रोबोटको सहायतमा सर्जरी सेवा सुरू गरेको छ। अस्पतालले चिनमा बनेको रेमबोट (डा रामु) रोबोटिक प्रविधिको सहायतामा तीनजनाको सर्जरी गरिसकेको अस्पतालका अध्यक्ष डा वसन्त पन्तले जानकारी दिए।

विभिन्न उमेर समूहका तीनजना बिरामीको सर्जरी सेवा सफल भएपछि अस्पतालले पत्रकार सम्मेलन गरी सर्जरीमा नयाँ प्रविधि अपनाएको जानकारी दिएको हो। वर्षमा २८ सय हाराहारीमा न्युरो सर्जरी सेवा दिने अस्पतालले अहिले ‘आवश्यकता र बिरामीको मागअनुसार’ उक्त प्रविधिको प्रयोग गरिने बताएको छ।

रोबोटको सहायतामा सर्जरी गर्दा सानो घाउ बनाउने, तार्गेट गरेकै ठाउँमा सर्जरी उपकरण पुर्‍याउने र समय कम लाग्ने डा पन्तले बताए। उनले थपे,  ‘एक तिहाइ सानो घाउ हुने भएकाले चाँडै बिरामी निको हुने र शल्यक्रियामा कम समय लाग्ने देखिएको छ।
अस्पतालका मेडिकल डाइरेक्टर डा सुदन ढकालले बिरामीलाई गुणस्तरीय उपचार सेवा दिने अस्पतालको प्रयासस्वरुप उक्त उपकरण ल्याइएको बताए। ‘हाम्रो लक्ष्य बिरामीलाई राम्रो उपचार सेवा दिने हो। त्यसैले हाम्रो स्रोतसाधनले भ्याएसम्म विश्वमा अभ्यासमा रहेका उपचार पद्धति र अविष्कार भएका नवीनतम प्रविधि यहाँ ल्याउने प्रयास गरिरहेका हुन्छौं।
नेपालको न्युरो सर्जरी रोबोटिक एरामा पुगेको हामी यसबाट जनाउन चाहन्छौं,’ उनले पत्रकार सम्मेलनमा भने।

अस्पतालकी फङ्सनल न्युरोसर्जरी विशेषज्ञ डा रेशा श्रेष्ठले उक्त रोबोटले सर्जरी सेवामा सहजता ल्याउने बताइन्।  नयाँ प्रविधिको प्रयोगका लागि आफूहरु सधैं तयार रहने बताइन्। अस्पतालमा रहेका बायोमेडिकल इन्जिनियरको सहायतामा आफूले पहिचान गरेको समस्या र गर्न खोजेको समाधान अनुसार रोबोटलाई निर्देशन दिइने उल्लेख गरिन्।

‘हामीले चिकित्सा विज्ञान अध्ययन गरेपनि नयाँ प्रविधिको प्रयोगका लागि सधैं तयार रहनुपर्छ। नजानेको कुरा जान्नेहरुबाट सिक्दै र सहयोग लिँदै बिरामीलाई राम्रो उपचार सेवा दिन खोजिरहेका हुन्छौं,’ उनले भनिन्।

उक्त रोबटको सहायताबाट न्युरोका साथै स्पाइनमा समेत सर्जरी गर्ने सकिने डा पन्तले बताएका छन्। नियमित सर्जरी भन्दा २०/२५ प्रतिशत मात्रै उपचार खर्च बढ्ने अनुमान अस्पतालको छ।

प्रतिक्रिया

सम्बन्धित खवर