नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने भएको छ । नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको नयाँ सरकार गठन भएसँगै केही पछि धकेलिएको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्न लागिएको हो ।
यसअघि नेपाल राष्ट्र बैंकले गत शुक्रबार नै मौद्रिक नीति ल्याउने तयारी गरेको थियो । तर, नेकपा एमालेका तर्फबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले ६ गते संसदमा विश्वासको मत लिने तथा सम्बोधन गर्ने कार्यक्रम रहेकाले सो दिनका नीति सार्वजनिक हुन सकेको थिएन ।
अर्थतन्त्र दबाबमा रहेका कारण यस पटकको मौद्रिक नीति कस्तो आउला भनेर सबैतिरबाट हेरिरहेका छन् । सेयर बजारका लगानीकर्ता मौद्रिक नीति कुरेर बसेका छन् भने निजी क्षेत्रदेखि सबै सरोकारवालाले मौद्रिक नीतिलाई चासोका साथ हेरिरहेका छन् ।
समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैङ्कले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।
सामान्य रूपमा व्याख्या गर्नुपर्दा मौद्रिक नीतिले मुद्राको मूल्य निर्धारण गर्छ । त्यसले गर्दा राष्ट्र बैङ्कले सार्वजनिक गर्ने मौद्रिक नीतिले प्रत्यक्ष रूपमा सर्वसाधारण उपभोक्ता, उत्पादक वा कर्मचारी सबैलाई प्रभाव पार्छ ।
पुँजीलाई महँगो बनाउने कि सस्तो, राष्ट्रिय मुद्रालाई अन्तर्राष्ट्रिय मुद्राको तुलनामा बलियो बनाउने कि कमजोर जस्ता कुरा मौद्रिक नीतिमा निर्भर हुन्छ ।










