जनकपुरधामसहित सम्पूर्ण मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वको रौनक देखिएको छ। यस पर्वबाट नवविवाहिता महिलाले वैवाहिक जीवन जिउने पाठ सिक्ने गर्दछन्। मिथिलाञ्चलका नवविवाहिता महिलाहरुले  बिहीबारबाट मधुश्रावणी व्रत सुरु गरेका छन्।

साउन महिनाको मौना पञ्चमी तिथिदेखि सुरु हुने मधुश्रावणी व्रत १५ दिनसम्म मनाइने गरिन्छ। देव, ब्राह्मण, कर्ण तथा सोनार जातको नवविवाहिता महिला समिति रहेको यसपर्व अहिले सबै जातजातिका नवविवाहिताले अखण्ड शौभाग्यवती, पतिको दीर्घायुको तथा परिवारको सुख शान्तिको कामना गर्दै मिथिलाञ्चलमा ‘मधुश्रावणी’ मनाउने गरेको जनकपुरधाम किशोरी टोलकी ज्योतिदेवी झाले जानकारी दिइन्।

मिथिला संस्कार र परम्पराअनुसार नवविवाहिता मैथिल महिलाका लागि ‘मधुश्रावणी’ महत्वपूर्ण पर्वमध्ये एक हो। यो व्रत श्रावण शुक्ल तृतीया तिथिसम्म मनाइन्छ। यो पर्व नवविवाहिता महिलाले माइतमा बसेर मनाउने गर्छन्। पर्वको एक दिन पहिले नवविवाहिता महिलाको घरबाट आएको नयाँ लुगा, नाग नागिन पूजा गर्न, फूल चढाउन र व्रतालु महिलालाई खानका लागि फल, चना, चामल गौर गढेर पठाउने चलन रहेको झाले बताइन्।

व्रतको अघिल्लो दिन व्रतालु महिला बिहानै नुहाइधुवाइ गरेपछि लसुन प्याज, माछा, मासु नून बारेर शुद्ध चोखो खान्छन्। त्यस दिनलाई मैथिली भाषामा नहाइ खाइ भन्ने चलन छ। व्रतभरि हरेक दिन नवविवाहिता महिलाले साथी संगीसँग साँझको समयमा आफ्ना घर–आँगन तथा गाउँभरिका फूल र फूलको पात, दुबो, पान, बेलको पातलगायत तोडेर ल्याउने साँझमा ल्याएको फूल त्यसको भोलिपल्ट देवी देवतालगायत शिव पार्वतीको गीत, कथा सुनेर त्यही फूल माता गौरी तथा विषहाराको पूजामा चढाउने गर्छन्।
मधुश्रावणी व्रतमा राजा दक्षका हरेक छोरीका बारेमा चर्चा गर्नुका साथै, भगवान शिवलगायत नागनागिनकोसमेत कथा सुन्ने चलन रहेको पण्डित लालबाबु झा बताउँछन्। पण्डित झाका अनुसार मधुश्रावणीको पहिलो दिन तथा मौना पञ्चमीको दिन माता मानसादेवीको पूजाका साथसाथै माटोले बनाइएका नाग–नागिन र हात्तीको पूजा गरिने विधि रहेको छ। नवविवाहिता महिलाले सामाजिक सांस्कृतिक परम्परामा आधारित ‘मधुश्रावणी’ पर्व नव वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाउछन्। वर्षा ऋतुमा सर्पको भूमि (जमिन)मा आगमन हुने भएकोले उनीहरूको सम्मानका लागि नागनागिनको साथै शिवपार्वतीको पूजा गर्ने चलन रहेको मिथिला नगरपालिका– ६ कि पुनम झाले बताइन्।

नारी जीवनमा पतिप्रतिको स्नेह, सौहाद्रतालाई प्रगाढ बनाउन प्रेरित गर्दछ, भने सर्पका वंशको बारेमा चर्चित कथाले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जनविश्वास रहेको महेन्द्रनगर धनुषाकी गीता देवीझाले बताइन्। तृतीया तिथिको दिन तथा अन्तिम दिनलाई मधुश्रावणी भनिन्छ। त्यसदिन फेरि घरबाट व्रतालु महिलाका लागि खानेकुरादेखि लगाउने लुगासमेत पठाउने गर्छन्।

मिथिलामा चाडपर्व र संस्कृतिको विशेष महत्व छ। ज्ञान र विद्याको रूपमा परिचित थलो मिथिलमा महिलाको उच्च स्थान रहदै आएको छ। नेपाल र भारतमा मनाइने मधुश्रावणी पूजालाई कतै हरियाली तीज, श्रावणी द्वितीया भन्ने चलन पनि छ।

यस व्रतमा चढाइने बेलपात, मानको पात, धानको लावा, गाईको दूध, फलफूल, खिरलगायत अधिकांश परिकार प्रकृतिसँग जोडिएकाले यस पर्वले प्रकृतिको संरक्षण कसरी गर्नुपर्छ भन्ने पाठसमेत सिकाएको मानिन्छ। हिन्दू धर्मामलम्बिले गर्ने हरेक पूजामा पुरुष पुरोहितले पूजा गरेपनि यस पूजामा महिलाको मात्र सहभागिता रहने गरेकोले व्रतको आफ्नै महत्व र विशेषता रहेको मैथिलीका साहित्यकार राम भरोस कापडी बताउँछन्।

महिलाले पूजा गर्ने, कथा भन्ने, गीत गाउने, फूल टिप्ने सबै महिला नै रहेकोले यस पर्वमा महिलालाई पुरूषभन्दा अग्र स्थानमा रहेको सन्देश दिएको साहित्यकार कापडीको धारणा छ। एक व्रतालु महेन्द्रनगर धनुषाकी ममता साहका अनुसार यस व्रतमा भनिने कथा र गीतले नवविवाहिता महिलाले आफ्नो वैवाहिक जीवनलाई कसरी सहजरूपले अगाडि बढाउने भन्ने सन्देश दिने गर्छ। यो हाम्रो संस्कृति भएको र विवाहको पहिलो वर्ष मात्र विधिवत् मनाउने भएकाले यसको आनन्द सबै नवविवाहिता महिलाले लिनुपर्ने उनको भनाइ  छ। रासस

प्रतिक्रिया

सम्बन्धित खवर