वाणिज्य बैंकहरुले गत वर्षको असार मसान्तसम्म ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा १३.४० प्रतिशत धेरै हो ।

अघिल्लो वर्ष बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । यसमध्ये सबैभन्दा धेरै खुद नाफा कमाउने नबिल बैंक रहेको छ । बैंकले ७ अर्ब ६ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १०.२३ प्रतिशत धेरै हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब १९ करोड, प्रभुले ४ अर्ब ४८ करोड, प्राइम कमर्सियल बैंकले ३ अर्ब ७७ करोड र एभरेष्ट बैंकले ३ अर्ब ७० करोड नाफा कमाएको छ । कृषि विकास बैंकले ३ अर्ब ६५ करोड रुपैंया, नेपाल एसबिआई बैंकले २ अर्ब रुपैंया, लइमी सनराइज बैंकले ३ अर्ब रुपैंया, हिमालयन बैंकले २ अर्ब ८३ करोड नाफा कमाएको छ । कुमारी बैंकले २ अर्ब ३० करोड रुपैंया नाफा कमाएको छ । बैंकको खुद नाफा ३४५.६७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा १० वाणिज्य बैंकको खुद नाफा घटेको छ। जसमध्ये एनआईसी एशिया बैंकको खुद नाफा सर्वाधिक ६८.९१ प्रतिशत घटेको छ। यस अवधिमा बैंकले १ अर्ब ३८ करोड रुपैंया कमाएको छ । त्यस्तै, नेपाल बैंकको खुद नाफा ५१.८० प्रतिशत घटेको छ । बैंकले १ अर्ब ६५ करोड रुपैंया कमाएको छ । सिटिजन्स बैंकको खुद नाफा करिब २८ प्रतिशत घटेको छ। बैंकले १ अर्ब ३४ करोड रुपैंया कमाएको छ । त्यस्तै, ग्लोबल आइएमईले ६ अर्ब १ करोड नाफा कमाएको छ । यसको खुद नाफा भने १०.१३ प्रतिशत घटेको देखिएको छ ।

सबैभन्दा कम नाफा कमाउनेमा माछापुच्छ्रे बैंक रहेको छ । बैंकको नाफा अघिल्लो वर्ष यसै अवधिको तुलनामा २३.०९ प्रतिशतले घटेको छ । बैंकले १ अर्ब २५ करोड रुपैंया कमाएको छ । राष्ट्रिय वाणिज्य बैंकको नाफा ५.४८ प्रतिशत घटेको छ । यस अवधिमा बैंकले ३ अर्ब ३९ करोड नाफा कमाएको छ । त्यस्तै, स्टान्डर्ड चार्टड बैंकको नाफा ४.४१ प्रतिशतले घटेर ३ अर्ब ३० करोड रुपैंया कमाएको छ । सिद्धार्थ बैंकको नाफा ४.४८ प्रतिशतले घटेको छ । बैंकले ३ अर्ब रुपैंया कमाएको छ । सानिमा बैंकले २ अर्ब ३८ करोड नाफा कमाएको छ । यसको खुद नाफा भने ८.५९ प्रतिशत घटेको देखिएको छ । त्यसैगरी, एनएमबि बैंकले २ अर्ब ३३ करोड नाफा कमाएको छ । बैंकको खुद नाफा २७.४९ प्रतिशतले घटेको छ ।

बैकहरुले समग्रमा नाफा बढेको रिपोर्ट सार्वजनिक गरेका छन् । अधिकांश बैंकको इम्पेयरमेन्ट चार्ज घटेको हुँदा नाफामा सुधार आएको हो । सो सँगै खुद ब्याज आम्दानीमा पनि सुधार देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर