काठमाडौं महानगरपालिकाले नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई नगदसहित सम्मान गरेको छ।

बुधबार काभा महिला भलिबलको उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई महानगरले जनही १ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ।

महानगरले  टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई प्रोत्साहन गर्न नगदसहितको सम्मान​ गरेको हो। खेलाडीलाई जनही १ लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिष्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा महानगर प्रमुख बालेन शाहले खेलाडीहरूलाई हौसला दिँदै भने, ‘तपाईँहरूले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । खेलमा कुनै कमजोरी थिएन । खेलले सबै नेपालीलाई एउटै ठाउँमा उभ्याएको थियो । यसकारण, तपाईँहरूको प्रदर्शनले भलिबल राष्ट्रिय खेल भएको प्रमाणित भएको छ।’

प्रमुख शाहले, खेल विकासका लागि खेलाडीको प्रयत्‍नलाई नतिजामा रुपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताए ।

खेलको प्राविधिक पक्षमा चर्चा गर्दै उपप्रमुख सुनिता डंगोलले, उत्साह र जोश लिएर खेल मैदानमा जानु नै जित भएको उल्लेख गरिन् । ‘पदक प्राप्त गर्नु प्राविधिक कुरा हो । खेलमा जित र हार हुन्छ नै । सबैभन्दा महत्वपूर्ण कुरा त खेलाडीको उर्जा हो । महिला भलिबल टोलीमा हामीले त्यो उर्जा पायौँ ।’ उनले खेललाई सुदृढ र विकसित बनाउन महानगरपालिका प्रतिवद्ध भएको बताउँदै भनिन्, ‘अरु क्षेत्रमा पक्ष र विपक्ष हुन सक्छ यस प्रकार अन्तर्राष्ट्रिय स्तरका खेलमा पक्ष विपक्ष हुँदैन । सबै नेपालीको दृष्टि एउटै हुन्छ ।’

सम्मानका क्रममा मुख्य प्रशिक्षक जगदिश भट्टले, महानगरपालिकाको प्रोत्साहनले आगामी प्रतिस्पर्धामा दक्षिण एशियाली मुलुकहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्ने हौसला मिलेको उल्लेख गरे।

प्रतिक्रिया

सम्बन्धित खवर