बारामा विषाक्त खानेकुरा खाएर विरामी परेका एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ झवानीटोलका नरेश रामका तीन जना छोराछोरीको विषाक्त खानेकुरा खाएर मृत्यु भएको डाक्टरको प्रारम्भिक रिपोर्टले देखाएको प्रहरीले जनाएको छ।

शनिबार बेलुकी माछा र भात खाएर सुतेका नरेशका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन राम बिरामी परेका थिए।

उपचारका क्रममा सोमबार तीनै जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राईले बताए।

उनका अनुसार शनिबार बेलुकी गाउँकै पोखरीमा माछा मारेर स्थानीय व्यापारीले गाउँलेलाई बेचेका थिए। गाउँको पश्चिमतर्फ रहेको पोखरीबाट व्यापारीले मारेर ल्याएका उक्त माछा ४०/५० घरपरिवारले किनेका थिए। तीमध्ये माछा र भात खाएर सुतेका नरेशका तीनजना छोराछोरीलाई राति नै पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएर सिकिस्त बिरामी परेको प्रहरीलाई परिवारजनले बताएका छन्।

सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा उपचारको लागि भर्ना गरिएका उनीहरुरूलाई त्यहाँबाट थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। कलैयाबाट चिकित्सकले थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज अस्पतालमा रिफर गरेका थिए।

लालिमाको अवस्था पहिलेदेखि बढी नै चिन्ताजनक थियो। तीनै जनालाई कलैयाबाट वीरगञ्ज लाँदै गर्दा उनको बाटोमै मृत्यु भयो। दुई जना बालकको उपचारको क्रममा आइतबार राति मृत्यु भयो,’ सिम्रौनगढ वडा नम्बर ७ का अध्यक्ष विवेक मेहताले भने।

तीनै जनाको शव सोमबार कलैया अस्पतालमा पोस्टमर्टम गरी सदगद् गरिएको प्रहरी निरीक्षक राईले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर