गण्डकी प्रदेशमा ९ मन्त्रालय बनाउन नेपाली कांग्रेस र एमालेबीच सहमति भएको छ । सहमति अनुसार अब एमालेबाट ४ जना मन्त्री बन्ने छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको संख्या ९ भन्दा नबढाउने भनेपछि त्यति नै कायम गर्ने सहमति भएको हो । कांग्रेस–एमालेबीच १० मन्त्रालय बनाएर बाँडफाँड गर्ने कि ९ बनाउने भन्ने विवाद लामो समय रहँदा एमाले सरकारमा सहभागी भएको थिएन ।
कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीबीच ९ मन्त्रालय बनाउने सहमति भइसकेको छ ।
‘९ मन्त्रालय बनाउने विषयमा सहमति भइसकेको छ । अब एमालेबाट ४ जना मन्त्री बन्ने छन्’, न्यौपानेले भने, ‘मन्त्रालयसहित २/४ दिनमा मन्त्रिपरिषदलाई पूर्णता नै दिने तयारी छ ।’
मुख्यमन्त्रीलाई विश्वासको मत दिएका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र जितेका राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्रीमा यथावतै राखेर कांग्रेस–एमालेबीच ४/४ मन्त्रालय बनाउन प्रस्ताव भए पनि मन्त्रालय धेरै नबनाउने एमालेको जोड थियो । बरु मन्त्रालय फुटाएर संख्या बढाउने तर फणीन्द्र र मनाङेलाई नहटाउने मुख्यमन्त्री पाण्डेले अडान लिएका थिए ।
एमाले सुरुमा ७ मन्त्रालयबाट बढाउन नहुने अडानमा थियो तर मुख्यमन्त्री पाण्डेले फणीन्द्र र मनाङेलाई नहटाउने भएकाले २ मन्त्रालय लिने भए त्यो सम्भव हुने जवाफ दिएका थिए ।
मुख्यमन्त्री पाण्डेले फणीन्द्र र मनाङेलाई कुनै पनि हालतमा नहटाउने अडान लिए । मुख्यमन्त्री पाण्डेको अडानले एमाले लचिलो भएको हो ।










