१६औँ लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि दाङमा सुरु हुँदैछ । प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा हुने प्रतियोगिता जेठ १ देखि ३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको उद्घाटन चेतनारायण आचार्यले गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका एक हजार तीन सयभन्दा बढी खेलाडी सहभागी हुने प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तीरणदाज गौतमले जानकारी दिए ।

प्रतियोगितामा भलिबल, कबड्डी, उसु, कराँते तथा एथलेटिक्सका विभिन्न विधामा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । तुलसीपुर उपमहानगरपालिका–१७ स्थित बेलझुण्डी रङ्गशालामा प्रतियोगिताको उद्घाटन हुने कार्यक्रम छ ।

प्रतियोगिताअन्तर्गत भलिबलका खेल घोराहीस्थित जिल्ला समन्वय समितिको सहिद मञ्चमा, कबड्डी र उसुका खेल न्यू स्केट पार्कमा, कराँते र तेक्वान्दोका खेल दरबार स्केट पार्कमा तथा एथलेटिक्सका खेल बेलझुण्डी रङ्गशालामा सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि १२ वटै जिल्लाबाट खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरू दाङ आइरहेको सदस्य सचिव गौतमले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर