द हिडन ट्रेजरले ‘मिस नेपाल २०२६’ का लागि आवेदन खुला गरेको छ । बुधबार पुल्चोकस्थित द प्लाजामा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी संस्करणबारे जानकारी दिइएको हो ।
आयोजकले नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका इच्छुक नेपाली युवतीलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ । आवेदन दिने अन्तिम मिति जेठ २५ (जुन ८) सम्म तोकिएको छ ।
प्रतियोगिताको ग्राण्ड फिनाले साउन १६ (अगस्ट १) मा पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ । कार्यक्रम हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ ।
यस वर्ष ‘मिस नेपाल वर्ल्ड’, ‘मिस नेपाल कोस्मो’ र ‘मिस नेपाल इन्टरनेशनल’ गरी तीन विधामा विजेता छनोट गरिनेछ । प्रतियोगिताका लागि सहभागीको न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्षबीच हुनुपर्नेछ ।
विदेशमा बसोबास गर्ने नेपालीले गृह मन्त्रालयबाट जारी एनआरएन कार्डका आधारमा पनि आवेदन दिन सक्ने जनाइएको छ । आवेदन दर्ता निःशुल्क रहनेछ ।
आयोजकका अनुसार विराटनगर, इटहरी, बुटवल, पोखरा, नेपालगञ्ज र जनकपुरमा अडिसन सञ्चालन गरिनेछ । साथै काठमाडौंका १० वटा कलेजमा ‘मिस नेपाल एक्टिभेसन’ अभियान पनि सञ्चालन गरिनेछ ।
अन्तिम अडिसन जेठ २६ (जुन ९) मा काठमाडौंमा हुनेछ । छनोट भएका प्रतियोगीले ग्राण्ड फिनालेअघि आवश्यक प्रशिक्षण र ग्रुमिङ प्राप्त गर्नेछन् ।
सो अवसरमा प्रतियोगिताको संरचनामा केही फेरबदल गरिएको जानकारी दिइयो । द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले अन्तिम ३० राउन्डबाट प्रश्नोत्तर हटाइएको बताए । उनका अनुसार उत्कृष्ट ५ लाई मात्र अब प्रश्न सोधिनेछ ।
फिनालेमा सहभागी हुन मिस कोश्मोका सीइओदेखि वर्तमान विजेता समेत काठमाडौंमा आउने उनले जनाए ।










