गायक तथा अभिनेता प्रकाश सपूत पछिल्लो समय नयाँ गीतभन्दा फिल्म र अन्य गतिविधिमा बढी व्यस्त रहे। प्रकाश सपूत अफिसियल गीत लिएर स्रोता तथा दर्शकमाझ फर्किन लागेका छन्।

उनले नयाँ गीत ‘कर्तव्य’ (मेरो पनि होइन र यो देश-२) को अनाउन्समेन्ट टिजर बिहीबार सार्वजनिक गर्दै गीत शनिबार रिलिज हुने घोषणा गरेका हुन्। शनिबार साँझ ८ः२० बजे गीत सार्वजनिक हुने टिजरमा उल्लेख छ। प्रकाशले यसअघि ११ महिनाअघि ‘नाइँ भनेसी नाइँ’ सार्वजनिक गरेका थिए।

तर उनका ‘गलबन्दी’, ‘बदला बरिलै’, ‘सकम्बरी’ वा ‘मेरो पनि होइन र यो देश’ जस्ता गीतले बनाएको उचाइको तुलनामा उक्त गीतले अपेक्षित प्रभाव छाड्न सकेन। रिलिजअघि ठूलो चर्चा भए पनि उक्त गीतको भ्युज तुलनात्मक रूपमा निकै न्यून रह्यो।

त्यसयता कुनै नयाँ सांगीतिक सिर्जना नल्याएका प्रकाश झन्डै एक वर्षपछि फेरि आफ्नै परिचित शैलीको सामाजिक सन्देश बोकेको गीत लिएर फर्किन लागेका हुन्। ‘कर्तव्य’ प्रकाशको पाँच वर्षअघिको चर्चित गीत ‘मेरो पनि होइन र यो देश’ को दोस्रो श्रृंखला हो।

पहिलो भागले तत्कालिन सरकार, नेता र दलहरुमाथि गहिरो प्रश्न उठाउँदै दर्शकबाट माया पाएको थियो। यसको दोस्रो श्रृंखालाप्रति पनि घोषाणादेखि चासो देखिएको छ।

गीतमा शब्द, संगीत, स्वर, अवधारणा र निर्देशन स्वयं प्रकाश सपूतकै छ। गल्बन्दी प्रोडक्सन प्रालिले निर्माण गरेको गीतको प्रोजेक्ट हेड दिल शिरीष हुन्। संगीत संयोजन, ब्याकग्राउन्ड स्कोर र मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका छन।

छायांकन हरि हुमागाईं र सुनिल बीकेले गरेका हुन् भने सम्पादन प्रवीण भट्टको हो। लामो समयपछि नयाँ सिर्जना ल्याउन लागेका प्रकाश सपूतका लागि ‘कर्तव्य’ केवल अर्को गीत मात्र होइन, यो उनको पुनरागमनको परीक्षा पनि बनेको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर