टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’ टिमले निर्माण गरेको फिल्म ‘ककाकिकी’को पहिलो झलक सार्वजनिक गरिएको छ।

निर्माण पक्षले आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच फर्स्टलुक भिडिओ सार्वजनिक गरेको हो। सार्वजनिक भिडिओमा मुख्य पात्रहरू आफ्नो गाउँका लागि केही गर्ने योजनामा जुटेको देखिन्छ।

झलकमा अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठी डाँडामा बसेर छलफल गरिरहेको दृश्य समावेश छ। प्रकाश घिमिरे, मनोज गजुरेल, दिया मास्के, शिशिर वाङ्देल, माओत्से गुरूङलगायत कलाकारहरूको झलक समेत भिडिओमा देखिन्छ।

माया इन्टरटेन्मेन्ट स्टुडिओको प्रस्तुतिमा बनेको ‘ककाकिकी’ आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउनेछ। पहिलो झलक सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको औपचारिक प्रचार अभियान सुरू भएको जनाएको छ।

निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले आफूहरूले राम्रो फिल्म बनाउने प्रयास गरेको बताउँदै अब यसको मूल्यांकन दर्शकले गर्ने बताए। बिक्कीले भने, ‘हामीले राम्रो फिल्म बनाउने प्रयास गरेका छौं, बाँकी निर्णय दर्शकको हातमा छ।’

सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), सुवर्ण थापा, अलिशा भोग, बिटी कान्छा, कमल देवकोटा, सीडी विजय अधिकारीलगायत कलाकारहरूको समेत अभिनय छ।

फिल्मको लेखन बिक्की अग्रवाल, सरोज भण्डारी र विकास अर्यालले गरेका हुन्। श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको फिल्ममा सुदीप बरालको डिओपी, मिलन विक्रम शाहको सम्पादन छ। डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ भने अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेशनलले लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर