फिल्म ‘आशा’ निर्माण हुने भएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमबिच फिल्म घोषणा गरिएको हो । अग्रज प्राविधिकलाई सम्मान गर्दै घोषणा गरिएको उक्त कार्यक्रममा फिल्मको विषयवस्तु, कलाकारसँगै प्राविधिकको परिचय गराइयो । उडान स्टुडियोको लगानीमा निर्माण हुने फिल्मकी निर्माता शर्मिला थापा रहेकी छन् । फिल्मको निर्देशन राजीव गुरुङले गर्नेछन् ।
फिल्ममा कलाकारको रूपमा महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी लगायतका कलाकारको अभिनय रहनेछ ।
कार्यक्रममा फिल्मकी निर्मात्री शर्मिला थापाले एउटा परिवारको कथालाई पर्दामा ल्याउन लागिएको जानकारी दिइन् । ‘हामीलाई अहिले परिवारसँग समय बिताउने पनि फुर्सद हुँदैन, छैन । तर, त्यही परिवार अपूर्ण हुँदा नभएको सदस्यको महत्त्व झल्किन्छ, महसुस हुन्छ’ थापाले भनिन् ।
अभिनेता त्रिपाठीले फिल्मको विषयले आकर्षित गरेर टिममा जोडिएको बताए । ‘यसको कथा बनिरहेका भन्दा फरक छ, एउटा अभिनेतालाई राम्रो कथाको लोभ लाग्छ नै, त्यसैले यसमा जोडिएको छु । यो फिल्मले फिल्मका रूपमा दिने मनोरञ्जनसँगै हामीलाई केही दिन्छ’, त्रिपाठीले भने ।
फिल्ममा पुराना प्राविधिकलाई नगद राशिसहित सम्मान गरिएको थियो । विसं २०४६ सालमा प्रदर्शन भएको फिल्म ‘अन्याय’ मार्फत भेसभुसामा काम गर्नुभएका प्राविधिक कमल मिश्रलाई नगदराशी ५१ हजारसहित दोसल्लाह ओढाएर फिल्मकी निर्मात्री थापा, निर्देशक गुरुङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त सम्मान गरे ।
फिल्ममा सह लेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल र वितरक करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) रहेका छन् ।










