अभिनेत्री काजल कर्णले चलचित्र कलाकार संघमा उजुरी दिएकी छन्।
उनले आफूमाथि फिल्म ‘चिरञ्जीवि भवः’ को छायांकन सेटमा दुर्व्यवहार भएको आरोप लगाउँदै मंगलबार संघमा उजुरी दिएकी हुन्। संघका अध्यक्ष उत्तम केसीका अनुसार कर्णले इमेलमार्फत उजुरी दर्ता गराएकी हुन्।
उजुरीमा उनले सेटमा आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै घटनामा संलग्न व्यक्ति तथा निर्माण टोलीमाथि स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेकी छन्। साथै, भविष्यमा कुनै पनि कलाकारमाथि यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता सम्बन्धित पक्षबाट गराउनुपर्ने माग पनि गरेकी छन्।
उजुरी प्राप्त भएपछि अध्यक्ष केसीले दुवै पक्षलाई छलफलका लागि बोलाउन लागेको बताए। ‘इमेलमार्फत उजुरी आएको छ। दुवै पक्षलाई छलफलका लागि बोलाउन सम्पर्क गर्दैछौं,’ उनले भने।
अभिनेत्री कर्णले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि आफूले कलाकार संघमा औपचारिक उजुरी दर्ता गरिसकेको जानकारी दिएकी छन्। उनले उजुरीसँग सम्बन्धित सम्पूर्ण प्रमाणसमेत पेश गरिसकेको उल्लेख गरेकी छन्।
आफू न्यायका लागि अन्तिमसम्म लड्ने बताउँदै कर्णले यो लडाइँ आत्मसम्मान, सत्य र न्यायको भएको उल्लेख गरेकी छन्।
यता, फिल्मका निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले भने अभिनेत्री कर्णले लगाएको आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन्।










