शुक्रबारदेखि नेपाली सिनेमा हलमा दुई फरक स्वादका नयाँ फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म ‘गौंथली’ र हलिउडको ‘द ओडिसी’ प्रदर्शनमा आएका हुन्।
‘गौंथली’ प्रदर्शनअघि नै चर्चामा रहेको फिल्म हो। टिजर, ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया पाएको फिल्मले प्रिमियर शोमा पनि सकारात्मक प्रतिक्रिया पाएको थियो।
गत सोमबार काठमाडौंमा गरिएको प्रिमियरमा फिल्म हेरेका फिल्मकर्मीहरूले यसको कथा, सामाजिक सन्देश, कलाकारहरूको अभिनय र भावनात्मक प्रस्तुतिको प्रशंसा गरेका थिए।
फिल्मले पढ्ने सपना बोकेकी एक ग्रामीण युवतीको संघर्षलाई केन्द्रमा राखेको छ। समाजमा अझै विद्यमान बालविवाह र महिलाले भोग्नुपर्ने चुनौतीलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको निर्माण पक्षको दाबी छ।
डा. कपिल रिजालको निर्देशन रहेको फिल्ममा अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। साथमा मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरेलगायत कलाकारहरूको समेत अभिनय छ। निर्मातामा डा. कपिल रिजाल र सुमन गिरी छन्।
‘गौंथली’ले सकारात्मक प्रतिक्रियाको फाइदा उठाउँदै बक्स अफिसमा राम्रो सुरुआत गर्ने अपेक्षा निर्माण टिमको छ। फिल्मको रनटाइम १४० मिनेट छ।
विश्वभरको प्रतीक्षित फिल्म ‘द ओडिसी’ पनि आजदेखि
यता, ओस्कार विजेता निर्देशक क्रिस्टोफर नोलन निर्देशित हलिउड फिल्म ‘द ओडिसी’ पनि आजदेखि विश्वभर प्रदर्शनमा आएको छ। नेपालमा पनि शुक्रबार फिल्म रिलिज भएको हो। होमरको चर्चित महाकाव्यमा आधारित यो फिल्म पछिल्ला वर्षकै सबभन्दा धेरै प्रतीक्षा गरिएको हलिउड फिल्ममध्ये एक मानिएको छ। फिल्ममा म्याट डेमन, टम हल्यान्ड, एनी ह्याथवे, रोबर्ट प्याटिन्सनलगायत चर्चित कलाकारहरूको अभिनय छ।
यो फिल्म अत्याधुनिक आईम्याक्स प्रविधिमा निर्माण गरिएको छ। प्रदर्शनअघि नै अग्रिम टिकट बुकिङ र अन्तर्राष्ट्रिय चर्चाका कारण यसले विश्वभर ठूलो उत्साह सिर्जना गरेको थियो।
नेपालमा पनि ‘द ओडिसी’ लाई अधिकांश मल्टिप्लेक्स हलहरूले उत्कृष्ट शो उपलब्ध गराएका छन्। एडल्ट सर्टिफिकेट पाएको यो फिल्मको रनटाइम १७२ मिनेट छ।










