अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बन्ने फिल्म ‘ए मेरो हजुर ५’को छायांकन सुरू भएको छ।

निर्माण टिमले शुक्रबार ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन प्रारम्भ गरेको हो। सुरूआतमा केही दृश्य काठमाडौंमा खिचिनेछ भने त्यसपछि छायांकनका लागि टिम बाजुराको बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ प्रस्थान गर्नेछ।

फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा छन्। ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’पछि यो उनीहरूको तेस्रो सहकार्य हो। यसअघि यो जोडीलाई दर्शकले निकै रुचाएका थिए।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्म निर्माता सुनिलकुमार थापा हुन्। कथा, पटकथा र संवाद झरना थापा तथा सरिन पोखरेलले लेखेका छन्। फिल्ममा अनमोल र सुहानासहित दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाललगायत कलाकारहरूको समेत अभिनय रहनेछ।

फिल्मलाई संजय लामाले छायांकन गर्नेछन्। ‘ए मेरो हजुर’का अघिल्ला चारै शृंखलाले बक्स अफिसमा सफलता हासिल गरेका थिए। ‘ए मेरो हजुर ५’ नेपाली नयाँ वर्ष २०८४ को अवसरमा देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ। फिल्मको वितरण काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर