चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामा नयाँ हास्य सिरियल निर्माण गरेका छन् । यहाँको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलको नाम ‘म त मर्छु कि क्या हो’ राखिएको छ ।
निर्देशक धुर्मुसका अनुसार नर्थ क्यारोलाइनाका राले, केरी, होली स्प्रिङ्स, हाई पोइन्ट, ग्रिन्सबोरो लगायत विभिन्न स्थानमा सिरियलको छायांकन गरिएको छ । धुर्मुस सुन्तली मिडियाले निर्माण गरेको यो सिरियल हरेक साता शुक्रबार नेपाली समय साँझ ८.१५ बजे प्रसारण गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
अमेरिकामा भने शुक्रबार विहान १०.३० बजे प्रशारण हुने यो श्रृंखला धुर्मुस सुन्तली युटुव च्यानलबाट प्रशारण हुनेछ । ‘म त मर्छु कि क्या हो’ नाम धुर्मुसको विगतमा चर्चित बनेको संवाद तथा थेगोबाट लिइएको हो ।
सिरियलमा सीताराम र कुञ्जना आफ्ना चर्चित पात्र धुर्मुस र सुन्तलीकै भूमिकामा देखिनेछन् । उनीहरूकै निर्देशनमा निर्माण भएको सिरियलमा वरिष्ठ हास्य कलाकार मोहन मिश्र समेत मुख्य भूमिकामा देखिँदैछन् । ‘होस प्रसाद’, ‘मिस्टर फन्टुस’ लगायत एक समयका लोकप्रिय हास्य कार्यक्रममा कलाकार तथा निर्देशकका रूपमा परिचित मिश्र लामो समयपछि अभिनयमा फर्किएका हुन् ।
सिरियलमा दिनेश कार्की, शंकर राज वाग्ले, संयम लामिछाने, मोनिका चौलागाँई चुडा धिमाल, धर्म भारतीलगायत कलाकारको अभिनय देख्न सकिनेछ । यही सिरियलमार्फत सीताराम र कुञ्जनाले आफ्नी छोरी सुबिहानी कट्टेललाई पनि बाल कलाकारको रुपमा डेब्यु गराएका छन् ।
राजु केसीको छायांकन रहेको सिरियलमा आशिष अविरलको गायन, प्रकाश पुञ्जको शब्द, राजेन्द्र बज्गाईंको संगीत तथा राजेन्द्र मानन्धरको सम्पादन रहेको छ ।
सिरियल केवल मनोरञ्जनमा मात्र सीमित नरहने निर्माण पक्षले जनाएको छ । यसले अमेरिकामा बसोबास गर्ने नेपालीहरूको संघर्ष, सफलता, उपलब्धि, अवसर र चुनौतीसँगै यहाँको जीवनशैली, सामाजिक तथा सांस्कृतिक परिवेश, नेपाली समुदायका गतिविधि तथा प्रवासी जीवनका विविध अनुभव र कथालाई हास्यव्यंग्यात्मक ढंगले प्रस्तुत गर्नेछ ।
अमेरिकामा बसाइँ सरेपछि नेपाली समुदायले भोग्ने भाषिक, सामाजिक र सांस्कृतिक चुनौती, काम र व्यवसायको अनुभव, पारिवारिक सम्बन्ध, नयाँ पुस्ताको सोच तथा नेपालीपन जोगाउने प्रयासजस्ता विषयलाई पनि कथावस्तुमा समेट्ने तयारी गरिएको छ । यसले विदेशमा रहेका नेपालीका दैनिक जीवनसँग जोडिएका वास्तविक परिस्थितिलाई हास्यका माध्यमबाट दर्शकमाझ पुर्याउने अपेक्षा गरिएको छ ।
नर्थ क्यारोलाइनाको हाई पोइन्टमा बस्दै आएका नेपाली चलचित्रका पुराना निर्माता तथा व्यवसायी माधव ढकालले प्रवासमा बसेर नियमित रूपमा कला सिर्जना सुरु गर्नु प्रशंसनीय कार्य भएको बताए ।










