रामबाबु गुरूङ निर्देशित फिल्म ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ।
कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले १० दिनमै १० करोड रूपैयाँको आँकडा पार गरेको हो। यससँगै फिल्मले यस वर्ष सबभन्दा छोटो समयमा १० करोड रूपैयाँ ग्रस कलेक्सन गर्ने फिल्मको रेकर्डसमेत बनाएको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको आधिकारिक बक्स अफिस विवरणअनुसार फिल्मले प्रदर्शनको १० दिन अर्थात् आइतबारसम्म १० करोड ७६ लाख ७३ हजार ७१५ रूपैयाँ ग्रस कमाइ गरेको छ। यस अवधिमा फिल्मका ३ लाख ४६ हजार ४२७ वटा टिकट बिक्री भएका छन्।
योसँगै ‘कबड्डी ५’ यस वर्ष १० करोड रूपैयाँभन्दा बढी कमाउने तेस्रो फिल्म बनेको छ। साथै, यस वर्ष सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ।
यस वर्ष सबभन्दा धेरै कमाइ गर्ने फिल्म ‘गौंथली’ हो। उक्त फिल्मले २६ करोड ७ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ। यस्तै, ‘पेन्सन पट्टा’ १० करोड २८ लाख रूपैयाँ ग्रस कमाइसहित तेस्रो स्थानमा छ।
प्रदर्शनको सुरूआतदेखि नै दर्शकको उत्साहजनक साथ पाएको ‘कबड्डी ५’ ले समीक्षात्मक रूपमा भने मिश्रित प्रतिक्रिया पाइरहेको छ। फिल्मको कथा र प्रस्तुतिलाई केही दर्शकले रूचाएका छन् भने कतिपयले अपेक्षाअनुसार नभएको प्रतिक्रिया दिएका छन्। मिश्रित प्रतिक्रियाका बाबजुद फिल्मको बक्स अफिस प्रदर्शन भने उत्साहजनक देखिएको हो।
‘कबड्डी’ शृंखलाको पाँचौँ फिल्ममा पुराना परिचित पात्रसँगै नयाँ कलाकार पनि जोडिएका छन्। फिल्ममा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरूङ, सिर्जना गुरूङ, मिरुना मगरलगायत कलाकारको अभिनय छ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता रामबाबु गुरूङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरूङ (एलजी) हुन्।










