चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय समिति गठन गरेको छ ।

शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्यसचिव र शिक्षा मन्त्रालयका एक उपसचिव सदस्य रहेका छन् ।

इलाममा २५औँ पटक आमरण अनशनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सरकारले वार्ता समिति गठन गरेको हो । स्वास्थ्यमा थप जटिलता देखिएपछि उनलाई सोमबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । हाल उनी थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

डा. केसीले यसपटक चिकित्सा शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धित ६ बुँदे माग अघि सारेका छन् । उनले आवश्यक पूर्वाधार र जनशक्ति नपुगेको अवस्थामा कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमति खारेज गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा देखिएको स्वार्थको द्वन्द्वबारे निष्पक्ष छानबिन गर्नुपर्ने, गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने तथा यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने उनको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर