शिक्षा तथा खेलकुद मन्त्रालयले बाढी पहिरोको जोखिममा रहेका विद्यालयलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया सुरु भएको जनाएको छ। नदी किनार, पहिरो प्रभावित क्षेत्र तथा भौगोलिक रूपमा असुरक्षित स्थानमा रहेका विद्यालयको जोखिम मूल्यांकन गरी स्थानान्तरण र पुनर्निर्माणलाई प्राथमिकता दिइएको हो।

भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा मन्त्रालयका सचिव चुडामणि पौडेलले स्थानीय तहको समन्वयमा जोखिमयुक्त विद्यालय स्थानान्तरणको काम अघि बढाइएको जानकारी दिए।

विगतमा समुदायले उपलब्ध गराएका जग्गामा विद्यालय निर्माण गर्ने क्रममा कतिपय शैक्षिक संस्था नदी किनार, भीर तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा स्थापना भएको उल्लेख गर्दै उनले अब विद्यालय निर्माण र स्थानान्तरण गर्दा प्राविधिक अध्ययन तथा जोखिम मूल्यांकनलाई आधार बनाइने बताए।

‘विगतमा समुदाय र व्यक्तिले प्रयोग गर्न अनुपयुक्त ठानेका जग्गा विद्यालयलाई दिने अभ्यास देखियो। त्यसैले धेरै विद्यालय खोलानाला र भीरपाखाको आसपास बने,’ सचिव पौडेलले भने, ‘अहिले बस्तीको अवस्था र आवश्यकताअनुसार सुरक्षित स्थानमा विद्यालय सञ्चालन गर्ने क्रम सुरु भएको छ।’

उनका अनुसार मन्त्रालयले विद्यालयहरूको भौगोलिक अवस्था पहिचान गर्ने कामसमेत अघि बढाएको छ। विद्यालय स्थानान्तरणमा स्थानीय तहको सुझाव र आवश्यकतालाई प्राथमिकता दिइनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर