
एकेडेमी अवार्ड अर्थात् ओस्कार-२०२४ को बारेमा चर्चा सुरु भएको छ । यस वर्ष भारतका धेरै फिल्म अवार्डको दौडमा छन्, जसमध्ये एक हो विक्रान्त मेसीको ‘ट्वेल्थ फेल’ ।
विधुविनोद चोपडा निर्देशित उक्त फिल्मसहित हिना खानको ‘कन्ट्री अफ ब्लाइन्ड’ र मलयालम स्टार तथा निर्माता टोभिनो थोमसको फिल्म ‘२०१८’ पनि ओस्कार अवार्डका लागि दाबेदार रहेका २६५ फिल्ममा परेका छन् ।
अहिले ओस्कारका लागि २६५ फिल्मको दौडमा भारतका तीन फिल्म ‘ट्वेल्थ फेल’, ‘कन्ट्री अफ ब्लाइन्ड’ र ‘२०१८’ ले आफ्नो बलियो स्थान बनाएका छन् । यी २६५ फिल्मको सूची द हलिउड रिपोर्टरले सार्वजनिक गरेको छ ।
आगामी साता ओस्कारको मनोनयन सार्वजनिक हुनेछ । जसका लागि भारतीय फिल्मले पनि इन्ट्री गरेका छन् । ओस्कारको सर्वश्रेष्ठ फिल्म विधामा यसपटक ‘ओपेनहाइमर’, ‘बार्बी’ र ‘किलर्स अफ द फ्लावर मुन’ जस्ता बलिया हलिउड फिल्म मनोनित हुने सम्भावना छ । किनभने यी फिल्मले गोल्डेन ग्लोब्स र क्रिटिक्स च्वाइसजस्ता अवार्डमा सफलता प्राप्त गरिसकेका छन् । यो खबरमा प्रतिक्रिया दिंदै ‘२०१८’ की निर्देशक हिना खानले भोटिङका आधारमा फिल्म ओस्कारका लागि छनोट हुनु आफैंमा ठूलो उपलब्धि भएको बताइन् । उनले भनिन्, ‘ओपेनहाइमर र बार्बी जस्ता फिल्मसँगै यो सूचीमा पर्न पाउनु हाम्रो फिल्म कन्ट्री अफ ब्लाइन्डका लागि ठूलो उपलब्धि हो । यो सम्पूर्ण टिमका लागि गौरवको क्षण हो ।’